“बलियो नेपाल” भनेको के हो ?

“बलियो नेपाल” “बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन” को आर्थिक सहयोगमा नागरिक समाजका विश्वास प्राप्त व्यक्तिहरु सम्मिलित स्वतन्त्र समितिद्वारा संचालित एउटा गैर-नाफामूखी सँस्था हो | बालबालिकाहरुको सपनामा मलजल गर्न सके मात्र हाम्रो देश नेपाल बलियो अर्थात् शक्तिशाली हुन सक्छ भन्ने कुरामा हामी विश्वास गर्दछौं | जसको लागि देशमा व्याप्त दीर्घ कुपोषण (पुड्कोपन्) र सूक्ष्म पोषकतत्वको कमीले हुने कुपोषण (लुकेको भोक)को अन्त्य गर्न नयाँ सोचको आवश्यकता पर्दछ | बलियो नेपाल सम्भव भएसम्म धेरै भन्दा धेरै नेपालीहरुमाझ असल र पौष्टिक खानेकुरा पुर्याइ बालबालिकाहरुलाई उत्कृष्ट आहार खुवाउन प्रेरित गर्न चाहन्छ | 

बलियो नेपालले के गर्न चाहन्छ ?

बलियो नेपालले देशमा व्याप्त कुपोषण र लुकेको भोक विरुद्धको संघर्षमा एउटा नयाँ सोचको प्रतिनिधित्व गर्दछ | त्यसको लागि एकातिर खाद्य उद्योगहरुसंगको साझेदारीमा न्यून मूल्यमा पौष्टिक खाद्यवस्तु आपूर्ति गर्ने र अर्कातिर आनीबानी परिवर्तन एवम् सामाजिक बजारीकरणका माध्यमबाट ती खाद्य वस्तुको मागमा वृद्धि ल्याउन चाहन्छ |

बलियो नेपालले कसरी काम गर्छ ?

हामी न्यून आय भएका किशोरीहरु, प्रजनन उमेरका महिला तथा छ महिनादेखि दुई वर्षसम्मका बालबालिकाहरुलाई मध्यनजर गर्दै खानपान सुधारका विभिन्न कार्यक्रमहरू तयार गरिरहेका छौं | बलियो नेपालले देशव्यापी रुपमा खानेबानीमा क्रमिक परिवर्तन ल्याउन बृहत निजि क्षेत्र र प्रभावक व्यक्ति, समूह तथा सँस्थासँग सहकार्य गर्दै सुपथ र सुलभ मूल्यमा अझै बढी पौष्टिक खाद्य वस्तु उपलब्ध गराउन खाद्य उद्योगहरुसंग साझेदारी गर्नपौष्टिक खाद्यवस्तुको उपभोगमा वृद्धि ल्याउन सबभन्दा प्रभावकारी विधिहरुको परिक्षण गर्दै र त्यसबाट सिक्दै बजारीकरणका प्रयासबाट बलियो आहारको खरीद बढाउन प्रबर्द्धनात्मक क्रियाकलापहरुलाई लुम्बिनी प्रदेशबाट शूरु भएर समय क्रममा देशव्यापीरुपमा विस्तार हुनेछन् |

 

बलियो नेपाल किन अरुभन्दा फरक छ ?

 

हाम्रो रणनीति कुपोषण विरुद्ध सर्वपक्षीय संग्लनता, भावनात्मक लगाव तथा कार्य तत्परता सृजना गर्ने चाहनाबाट अभिप्रेरित छ | बलियो नेपालले सम्पूर्ण नेपाली समाजलाई लुकेको भोक विरुद्ध लड्ने साझा लक्ष्यका वरिपरी गोलबन्ध गर्न एक आत्मनिर्भर राष्ट्रिय अभियानको निर्माणका लागि साझेदारहरुको मौलिक संगठनमा अन्तरनिहित शक्तिको प्रयोग गर्नेछ | बलियो नेपालको नवप्रर्बदनात्मक, अपरम्परागत सोंच र शैलीले देशमा लुकेको भोक र गरिबीविरुद्ध लड्ने सामूहिक लक्ष्यलाई केन्द्रविन्दु बनाई परिवर्तनका संवाहकहरुको एउटा मौलिक समुदायमार्फत नेतृत्व गर्ने जमर्को गरेको छ ।  हामी निजि क्षेत्र र नागरिक समाजसंग सहकार्य गर्दै बढी भन्दा बढी पौष्टिक खाद्यवस्तुहरू सुपथ मूल्यमा आम नेपाली घरपरिवारको पहुँचमा पुर्याई लोकप्रिय बनाउन उपभोक्ताको माग र आपूर्तिमा आमूल परिवर्तनको दिशातर्फ अग्रसर छौं |   

हाम्रो अभियानको लक्षित वर्ग वा समुदाय को हो ?

हामी सम्पूर्ण नेपालीलाई बलियो हुन प्रेरित गर्ने गरी एउटा राष्ट्रिय अभियान निर्माणमा जुटिरहेका छौं | भावी पुस्ताको उचित वृद्धि विकास किशोरीहरु, प्रजनन उमेरका महिलाहरू, गर्भवती तथा सुत्केरी महिला लगायत ६ महिना देखि दुई वर्षसम्मका बालबालिकाहरुमा निहित छ भन्ने कुरा हामीलाई राम्रोसंग थाहा छ | तसर्थ हामी हाम्रा कार्यक्रमलाई विशेषगरी यहि समूहप्रति लक्षित गर्नेछौं |

६ महिनादेखि २ वर्षसम्मको बालबालिकालाई नै किन विशेष जोड दिने ?

बालबालिकाको पोषणमा बेलैमा ध्यान दिनु जरुरी हुन्छ | त्यसैले हामी छ महिनादेखि दुई वर्षका बालबालिकाको कुपोषण घटाउने गरी कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने गर्दछौं | दुई वर्ष पछि बालबालिकामा हुने दीर्घ कुपोषण अर्थात् पुड्कोपनले पछि कहिल्यै क्षतिपूर्ति नहुने गरी शारीरिक तथा मानसिक असर पुर्याउँछ र हाल त्यस्तो कुपोषण ३६ प्रतिशत नेपाली बालबालिकामा रहेको छ | हरेक बालबालिकाको र समग्र नेपालको भविष्य राम्रो बनाउन उच्चतम प्रभाव पार्ने भएकोले कार्यक्रमको शुरुवातमा हामी यही उमेर समूहका बालबालिकामा केन्द्रित हुनेछौं | कार्यक्रमको दोश्रो वर्षदेखि बलियो नेपाल किशोरी, प्रजनन उमेरका महिला, गर्भवती तथा स्तनपान गराउने महिला लगायत कुपोषणले असर पुर्याउने अन्य समूहमा केन्द्रित हुनेछ | 

"बलियो नेपाल" ले पहिलो वर्ष के के कार्यक्रम संचालन गर्नेछ ?

हाम्रो पहिलो कार्यक्रम पूरक आहारको प्रबर्द्धनमार्फत् ६ महिनादेखि दुई वर्षसम्मका २३ बालबालिकामा पोषकतत्वको कमीले देखिने समस्याका जोखिम न्यूनीकरण गर्नमा लक्षित रहनेछ | सो को लागि हामी खाद्य वस्तुको पौष्टिक गुणस्तर सर्वसुलभता एवम् पहुँचमा वृद्धि गर्न खाद्य उद्योग तथा व्यवसायहरुसँग साझेदारी गर्नेछौं | शुरुवातमा श्रीनगर एग्रो फार्मस्, अभिनाश फार्म, बि.एल.सी र दुगड गरी चारवटा उद्योगहरुको साझेदारीमा बलियो नेपाल अण्डा तथा भिटामिन र खनिज तत्व मिसाइएको पौष्टिक लिटोको पहुँच तथा उपभोगमा वृद्धि गर्न चाहन्छ |

उदाहरणको लागि चौधरी तथा दुगड ग्रुपले आउने मंसिर पुष महिनादेखि एकै पटकलाई पुग्ने गरिका साना साना प्याकेटमा पौष्टिक लिटोको बिक्रीवितरण शुरु गर्नेछन् | यस्ता प्याकेटको प्रयोगले पौष्टिक तत्व मिसाइएका खाद्यवस्तुप्रतिको आकर्षण बढ्ने मात्र नभई अरु कम पौष्टिक खाद्य वस्तुहरुको लागि पनि यी प्याकेटहरु मापदण्डको रुपमा तुलना गर्न सकिनेछन् | हाम्रो अभियान व्यवहार विज्ञानमा आधारित भई आधुनिक बजारीकरण द्वारा परिचालित हुनेछ | हामीले देशव्यापी रुपमा आफ्ना कार्यक्रम विस्तार गर्नुपूर्व प्रारम्भिक प्रबर्द्धनात्मक क्रियाकलापहरु केहि छानिएका नगरपालिकाहरुमा केन्द्रित गरिनेछ तत्पश्चात् मूख्यतया निजि क्षेत्रका साझेदारहरुसँगको सहकार्यमा देशव्यापी रुपमा विस्तार गरिनेछ | गत वर्षको कार्तिक १५ गते सम्माननीय राष्ट्रपतिज्यूबाट यस संस्थाको उदघाटन भएको र वहाँको संरक्षकत्वमा हामी एउटा राष्ट्रिय अभियानको रुपमा र सबै क्षेत्रलाई समेटेर समुदायस्तरमा विविध कार्यक्रम समेत संचालन गरिरहेका छौं |

यसले राष्ट्रकै खानपानमा सुधार ल्याउने अपेक्षा गरिएको छ | यस अभियानमा नागरिक समाज क्षेत्र खाद्य उद्योग र आम उपभोक्ता समेतको सहभागिता सुनिश्चित गरिएको छ | यस अभियानको शुरुवातमा नेपालीहरुलाई बढी भन्दा बढी अण्डा र पौष्टिक लिटो उपभोग गर्न प्रोत्साहित गर्नमा केन्द्रित हुने छौं भने त्यसपछि क्रमशः तयारी खाद्य वस्तुको पौष्टिकता अभिवृद्धि गर्न खाद्य उद्योगहरुसँगको सहकार्यलाई निरन्तरता दिनेछौं |

         

बलियो नेपालले भविष्यमा कस्ता रणनीतिहरु अख्तियार गर्नेछ ?

सूक्ष्म पोषकतत्व कुपोषण (लुकेको भोक)सँग लड्न समग्र राष्ट्रलाई एकजूट बनाउँदै अझ बढी पौष्टिक खानेकुराको बारेमा चेतना जगाई एउटा राष्ट्रिय अभियान निर्माण गर्नु हाम्रो मुख्य रणनिति रहेको छ | यसको शुरुवातमा हामी छ महिनादेखि दुई वर्षसम्मका बालबालिका र उनीहरुको पूरक खानामा केन्द्रित हुनेछौं | पहिलो वर्षमा लुम्बिनी प्रदेश सरकार र प्रदेश अन्तर्गतका ३२ नगरपालिका, महिलास्वास्थ्य स्वयंसेवक, आमा समूह, विद्यालय, बिक्रेताहरुसँग मिलेर अण्डा तथा पौष्टिक लिटोको उपभोगमा वृद्धि ल्याउने कार्यक्रमलाई वास्तविक रुप दिन चाहन्छौं | समय क्रममा, हामी न्यून आय वर्गका लागि सुपथ मूल्य र सरल पहुँच हुने तथा नेपालीहरुको पोषण आवश्यकता पूरा गर्न पौष्टिक तत्व मिसाइएका र अन्य पौष्टिक खाद्यवस्तु समेटेर "बलियो आहार टोकरी" निर्माण गर्नेछौं | हाम्रो अभियानले समुदायमा दिगो प्रभाव छोड्ने मात्र नभई नयाँ अवसरको समेत सृजना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं |

हामी खाद्य व्यवसायीहरुसँगको साझेदारी अण्डा र पोषिलो लिटो दुवैको बजार विस्तार गर्नुका साथै न्यून आय वर्गमा ती खाद्यवस्तुको सस्तो मूल्यमा थप पहुँच बनाउनुका साथै यी खाद्यवस्तुको उपभोगको मात्रा तथा पटकमा समेत वृद्धि गर्न चाहन्छौं | यदि हामी यसमा सफल भयौं भने एकातिर यी खाद्यवस्तुको मागमा वृद्धि भई खाद्य व्यवसायी साझेदारहरुलाई प्रत्यक्ष फाइदा पुग्नेछ भने अर्कातिर नेपाली बालबालिकाहरुलाई वास्तविक सन्तुलित आहारको फाइदा दिलाउने छ |   

बलियो नेपालले बालबालिका तथा तिनका अभिभावकहरुलाई खास के फाइदा पुर्याउनेछ ?

बलियो नेपाल माथिबाट आपूर्ति गरी वितरण गर्ने परम्परागत ढाँचा भन्दा अभिभावकहरुलाई आफ्नो परिवारको लागि पौष्टिक आहार छनौट गर्न अवसर र उत्प्रेरणा प्रदान गर्ने उद्देश्य सहितको एउटा स्वावलम्बी अभियानको परिकल्पना गर्दछ | यसको लागि नेपाली समाजका प्रत्येक सदस्य अविलम्ब आफ्नो भूमिका खेल्न तत्पर रहनुपर्दछ भन्ने कुरामा हामी विश्वास गर्छौँ | त्यसैले हामी अभिभावक र सम्बन्धित परिवारहरुलाई यी सवालहरुमा संलग्न गराउन चाहन्छौं | समुचित पोषणको महत्वको बारेमा शिक्षा र चेतना अभिवृद्धि हुनु तथा सस्तो मूल्यमा पौष्टिक खाद्य वस्तुको पहुँचमा वृद्धि हुनु यस अभियानबाट हुने प्रत्यक्ष फाइदाहरु हुन् |

के हाम्रो अभियानमा जनसमुदायको सहभागिता हुन्छ ?

 

हामी यस अभियानलाई सरकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहयोग र सहकार्यमा शुरुवात गर्दै क्रमशः आम जनसमुदायलाई व्यापक सहभागिता र समर्थनको लागि प्रेरित गर्दै जानेछौं | हामी कुपोषणको विरुद्धका सन्देशहरु प्रवाह गर्न र बलियो आहारका माध्यमबाट कुपोषण विरुद्धको लडाइँमा समुदायको सशक्तीकरणका लागि नगरप्रमुख र शिक्षकदेखि लिएर स्वास्थ्यकर्मी, बिक्रेता र खेलाडीसम्मलाई सक्रियतापूर्वक सहभागी गराइने छौं |  

यसमा निजि क्षेत्रले कस्तो भूमिका खेल्नेछ ?

बढीभन्दा बढी पौष्टिक खाद्य पदार्थहरु सुपथ मूल्यमा बजारमा उपलब्ध गराउन खाद्य उद्योग व्यवसायसँगको प्रत्यक्ष सहकार्यका अतिरिक्त हाम्रो सोचसँग सहमत हुने टेलिकम, होटल बैंक र अन्य निजि व्यवसायहरुले हाम्रो प्रयासप्रति प्रतिबद्धता व्यक्त गरिसकेका छन् | उनीहरुको आर्थिक तथा अमूल्य वस्तुगत सहयोगमा श्रव्यदृश्य सामग्री, सँस्थागत सौजन्य, प्याकेजिंग डिजाइन आदिका माध्यमबाट बलियो नेपालको छापलाई आम उपभोक्तामाझमा स्थापित गरिनेछ | हामी औसत नेपाली खाना पौष्टिकतामा प्रभाव पार्ने तथा आम नेपालीहरुले बढी भन्दा बढी उपभोग गर्ने खाद्यवस्तु तथा बालबालिकाहरुको पूरक खानाको पहिचान गर्न खाद्य उद्योग तथा व्यवसायसँगको सहकार्यलाई निरन्तरता दिनेछौं र ति खाद्य वस्तुमा बलियो छापको प्रबर्द्धन् गर्न निजि क्षेत्रका साझेदारहरूसँग सहयोग जुटाइनेछ |    

हाम्रो अभियानमा तयारी खाद्य वस्तु (Packaged Food)को कस्तो भूमिका रहन्छ ?

 

हाल बहुसंख्यक नेपालीहरुले सन्तुलित भोजन उपभोग गर्न पाइरहेका छैनन् | तसर्थ हामी बजारमा बढी भन्दा बढी पौष्टिक खाद्यवस्तु उपलब्ध गराउनेछौं | समयक्रममा न्यून आय वर्गका लागि सुपथ मूल्यमा सहज पहुँच हुने विभिन्न पौष्टिक खाद्यवस्तु समावेश गरी बलियो टोकरी तयार गरिनेछ | यदि हामीले न्यून आय भएका घरपरिवारले बढी मात्रामा उपभोग गर्ने तयारी खाद्यवस्तु लगायत सबै खाद्यवस्तुको समग्र पौष्टिक गुणस्तरमा सुधार गर्न सक्यौं भने हामीले नेपालमा कुपोषण घटाउने र यसको रोकथाम गर्ने दिशामा उल्लेख्य मात्रामा सफलता हासिल गर्न सक्छौं |

"बलियो आहारको टोकरी"मा कस्ता खाद्यवस्तुले स्थान पाउनेछन् ?

बलियो नेपालले खास प्रभाव पार्न सक्ने खाद्य उद्योग तथा व्यवसायसँग साझेदारी गर्नेछ | हाम्रो दृष्टिमा खाद्यवस्तुको पौष्टिकता, सहज पहुँच र सुपथ मूल्य नै आम उपभोक्तामा प्रभाव पार्ने मूलभूत तत्वहरु हून् |यसको अर्थ हाम्रा साझेदारहरुद्वारा उत्पादित खाद्यवस्तु उच्च पौष्टिक गुणस्तरका हुनैपर्नेछ | यी खाद्यवस्तुहरु या त प्राकृतिक रुपमै पोषकतत्वले भरिपूर्ण हुनुपर्नेछ अथवा स्वीकार्य स्तरमा पोषकतत्व मिसाइएका हुनुपर्नेछ | खाद्यवस्तुको पौष्टिक स्तर यकिन गर्न बलियो नेपालले अष्ट्रेलिया तथा न्यूजिल्याण्ड सरकारद्वारा संयुक्तरुपमा तयार गरिएको तथा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त पोषकतत्व आधारमा खाद्यवस्तु वर्गीकरण गर्ने पौष्टिकता अनुसारको तारामा आधारित वर्गीकरण प्रणाली (Health Star Rating System)को अवलम्बन गर्नेछ | यस प्रणाली अनुसार तीन तारा वा सो भन्दा माथिको स्तर प्राप्त खाद्यवस्तु मात्र बलियो नेपाल अन्तर्गत समावेश हुनेछन् | तयारी खाद्यवस्तुको पौष्टिक स्तर सुधारका लागि यो एउटा निकै नै चुनौतीपूर्ण मापदण्ड हो | विश्वव्यापीरुपमा परिक्षण गरिएका झन्डै दुई तिहाइ खाद्य तथा पेय पदार्थ ३.५ तारा भन्दा कम स्तरका पाइएका छन् |

हाम्रो बलियो आहारको टोकरी सम्भव भएसम्म धेरैभन्दा धेरै नेपालीहरुसमक्ष पुग्नु उत्तिकै महत्वपूर्ण छ | यसको लागि हामीले सुपथ मूल्यमा उच्च गुणस्तरका खाद्यवस्तु उत्पादन गर्ने मात्र होइन व्यापक वितरण संजाल समेत भएका साझेदारहरुलाई प्राथमिकतामा राखेका छौं | यसका साथै हामी सबै साझेदारहरुलाई बलियो नेपालको प्रतीक चिन्ह प्रयोग गर्न र हाम्रा सन्देशहरु प्रवाह गर्न अनुरोध गर्नेछौं |       

पौष्टिकतत्वको मूल्यांकनमा आधारित वर्गीकरण (Health Star Rating) भनेको के हो ?

पौष्टिकतत्वको मूल्यांकनमा आधारित वर्गीकरण (Health Star Rating) भनेको पौष्टिकताको आधारमा तयारी खाद्य तथा पेय पदार्थको वर्गीकरण गर्ने अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त प्रणाली हो | यो प्रणालीको अवलम्बनबाट तयारी खाद्य तथा पेय पदार्थमा चिनी, नून या सोडियम, चिल्लो वस्तु तथा क्यालोरी या शक्तिको मात्रा नियन्त्रण गर्ने भएकोले यसको आधारमा बलियो नेपालद्वारा प्रवर्धित कुनै पनि खाद्य तथा पेय पदार्थले मोटोपन र अन्य असंक्रामक रोगमा योगदान नगर्ने सुनिश्चित हुन्छ | यसले रोगको रोकथाम तथा असल स्वास्थ्य प्रवर्धनका लागि तयारी खाद्य तथा पेय पदार्थलाई पौष्टिकताको आधारमा वर्गीकरण गर्ने गर्दछ | खाद्य तथा पेय पदार्थमा भएको लाभदायक तथा जोखिमयुक्त पोषकतत्वको लेखाजोखा गरी सोको आधारमा 0.५ देखि ५ सम्म अंक निर्धारण गरिन्छ | जति बढी अंक प्राप्त गर्यो त्यति नै बढी पौष्टिक भन्ने बुझिन्छ |  

बलियो नेपालका कार्यक्रमको प्रभाव देखिन कति समय लाग्छ ?

हामी लुम्बिनी प्रदेशमा कार्यक्रम शुरु भएको केहि महिनाभित्रैमा आम समुदायको सोच र धारणामा परिवर्तन आए नआएको यकिन गर्न सक्षम हुनेछौं | यसैबीचमा हामी पौष्टिक खाद्य वस्तु खरीद तथा उपभोग गर्ने बानीमा आएको परिवर्तनको मापन गर्नेछौं | यसबाट हामीले उपभोक्ताहरुले बलियो नेपालद्वारा सिफारिस गरिएको टोकरी अनुसार खाद्य वस्तु खरीद गर्न शुरु गरे नगरेको थाहा पाउनेछौं | 

हामी अझै केही समयसम्म पोषणमा पर्ने दीर्घकालीन प्रभावको आंकलन गर्न सक्षम हुन सक्नेछैनौं तर यी प्रारम्भिक सूचकले आम जनसमुदायको पोषण सम्बन्धी सोच र व्यवहार परिवर्तन गर्न शुरु भए नभएको र ती परिवर्तनहरुमा बलियो नेपालका कार्यक्रमहरुको योगदान कति रहेको छ भन्ने शुरुवाती संकेत भने दिनेछन् |

यो कार्यक्रम किन नेपालमा परीक्षण गर्न लागिएको हो ? के यो अभियान अरु मुलुकमा पनि सञ्चालित छ ?

नेपालले वि.सं. २०५९ (सन् २००१) देखि वि.सं. २०७४ (सन् २०१६)सम्ममा पाँच वर्ष मुनिका बालबालिकाहरुको दीर्घ कुपोषण (पुड्कोपन) ५७ प्रतिशतबाट ३६ प्रतिशतमा घटाउने सफलताको श्रेय नेपाल सरकारको उच्च महत्वाकाँक्षा र यस दिशामा भएको अथक परिश्रमलाई जान्छ यति हुँदाहुँदै पनि सन् २०३० सम्ममा पुड्कोपनलाई १५ प्रतिशतमा झर्ने दिगो विकासको राष्ट्रिय लक्ष्य अझै निकै टाढा रहेको छ | तर यो साझा लक्ष्य हासिल गर्ने हाम्रो लडाइँमा साथ दिन विभिन्न सँस्था तथा प्रभावोत्पादकहरुको उत्सुकता हामीले देखिसकेका छौं |

नेपालमा विद्यमान कुपोषणको विशिष्ठ अवस्थाअनुसार हाम्रो रणनीतिलाई ढालेर कार्यक्रम संचालन गरिएको भएता पनि यो अत्यन्त नौलो रणनीतिको प्रयोगबाट सिकिएको सफलताको पाठलाई उदाहरणको रुपमा अन्य भौगोलिक क्षेत्रको अवस्थानुसार ढालेर संचालन गर्न सकिने कुरामा हामीलाई आशा एवम् विश्वास छ |

निजि क्षेत्रलाई नौला प्रविधि विकासको लागि प्रोत्साहन तथा उपभोक्ता लक्षित तयारी खाद्यवस्तुको प्रयोग जस्ता यस रणनीतिका पक्षहरु अन्यत्र समेत सफलतापूर्वक कार्यान्वयन भइरहेकाले कुपोषण विरुद्ध एउटा आत्मनिर्भर अभियान निर्माणको भूमिका खेल्न हामीलाई हरेक व्यक्ति तथा सँस्था, खासगरी निजि क्षेत्रको सहभागिता चाहिएको छ |  

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले “बलियो नेपाल”लाई के कसरी सघाउँदैछ ?

बिल एण्फाड मेलिन्डा गेट्स फाउण्डेशनले बलियो नेपालको स्थापना गर्न तथा व्यवस्थापनमा सहयोगको लागि शुरुवातमा केहि अनुदान प्रदान गरेको थियो | त्यसपछि पनि फाउण्डेशनले बलियो नेपालको पोषण विज्ञान, पौष्टिक खाद्यवस्तु विकास, उपभोक्ता बजारीकरण तथा आनीबानी परिवर्तन सम्बन्धी अन्य कार्यक्रमहरुसँग सम्पर्क स्थापित गर्दै उनीहरुमार्फत् समेत सहयोगलाई निरन्तरता दिएको छ | हामीलाई आशा छ यस सहयोगद्वारा बलियो नेपालले अन्य क्षेत्रका बजारहरुको लागि समेत उपयोगी हुने गरी नमूनाको रुपमा कार्यक्रम संचालन गर्नेछ र कुपोषण विरुद्धको विश्वव्यापी लडाइँमा निजि क्षेत्रसँग सहकार्यको उत्कृष्टतम् उदाहरण प्रस्तुत गर्नेछ |  

 

(विस्तृत जानकारीको लागि This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा सम्पर्क राख्नुहोला)